Saturday, June 12, 2021

पर्यटनको खेती ...!







हिमालका जरा रसाएर,
बगेको,
अमृतको एक-एक बुँद,
सारा मरुजनहरुलाई चखाईदिउँ ।

हिमालको खाजा,
अनि, पहाडको खानापछी,
धनगढीको,
'लु'मा सेकाईदिउँ।

झापामा धानका बाला झैँ झुलाईदिउँ,
चितवनमा गैंडामै गुडाईदिउँ,
दोधाराको झोलुङ्गोमा झुलाईदिउँ,
बर्दियाको बाघमै चढाईदिउँ,
देउडामा दौडाइदिउँ,
सोरठी र मारुनी नचाईदिउँ,
रोदिमा रत्याईदिउँ,
हाक्पारेमा हर्षाईदिउँ,

हिमालमा मात्र हैन साथी,
पशुपति र लुम्बिनी मात्र किन ?
पोखरा त पुरानै भयो।

अब,
गढिमाईमा गुढिदिउँ,
जनकपुरलाई जगाईदिउँ,
ओलाङ्चुङगोलामा उक्लिदिउँ,
रुबिमा रमाईदिउँ,
डोल्पामा काइके मै डोलाईदिउँ,
अपि र सैपालमा सुस्तादिउँ,

गरे,
सुन फल्छ साथी,
आउ,
सँगै मिलि,
ती पखेराहरुमा सुनै फूलाईदिउँ।
ती पाखाहरुमा सुनै फलाईदिउँ।।

Thursday, June 10, 2021

...अनि मुस्कुराउ











अतृप्त, अपूर्ण,
जीर्ण, सङ्कृर्ण
प्यासा यी मनहरु,
भोलिको खोजीमा,
समयको भुमरीमा,
आफैँलाई भुलेर, दुनियाँ खोज्दै,
कहाँसम्म हो भाग्ने,
कहाँसम्म लखेटिने,
त्यो,
सुदुर भविष्यको डरले,
सुनौलो आजलाई भुलेर,
कल्पनामा,
कहिलेसम्म हो बाँच्ने,
कहिलेसम्म हो कृत्रिम हास्ने,
यदि,
आज, हिजो हुन सक्छ भने,
आज, भोलि किन हुन सक्दैन,
हे मुर्ख,
भ्रममा छौ तिमी यी शब्दहरुको,
यी गन्तव्यहरुको,
तिम्रो अन्तिम यात्रा त, तिमी आफैँसम्मको हो,
जो सधैँ तिमीसँगै छ,
पख एक छिन,
रोक,
र आफैँलाई हेर,
अनि मुस्कुराउ...!!!